Tuesday, February 20, 2007

मोबाइल, तिमी र साइबर संसार

साइबर संसारले डोर्‍याएका सपनाहरुमा
मोबाइलले पर्खाल लगाउन नसकेर
रात छिप्पिदैछ, अनिदोमा
दिल र डिल दुबै भत्काएर बिना बादल गर्जन्छ, मनको आकाश
तब गर्भभित्रै कोरिन थाल्छन्
प्रलयका शंकाहरु
प्रतेक क्षण व्यस्त मोबाइलको नेटवर्क जस्तै
निर्लज्ज छैनन् पिडाहरु ।
साइबर संसार जस्तै स्वार्थी छैनन्
मेरा छटपटाहटहरु न कि सहज !
कहिलेकाहि आफै दाहसंकार गरेर
क्रियामा बसुँजस्तो लाग्ने
मरे जिउँदोको पत्तो नपाइने
यो मोबाइल जस्तै
शंकालु छैनन् मेरा दृष्टिहरु
अनि साइबर संसार जस्तै
प्रतेक कुरामा संभवताको भ्रम छरिदिने
बनावटी छैनन् भावहरु
पुस माघको जाडोमा कठ्यांग्रिएका
सपनाहरु जस्तै कुण्ठित भावहरु
जब साइबर संसार र एस०एम०एसमा उड्छन्
तब चैतको हुरीमा भुमरीन्छन् र हराउछन्
अस्तित्वविहिन बनेर ।
त्यसैले नडोर्‍याऊ कहिल्यै नछोइने
सपानको संसारमा
भूमरीमा रुमल्लिएका आवाजहरु फर्कँदैनन्
अवशेष बिना दुर्लभ बनाएर
तिमी भत्काउन सक्छौ फेरी म कोर्न सक्छु
चलिरहन्छ एस०एम०एस र साइबर संसारको लक्ष्मण रेखा,
मोबाइलमा तोडिएका मनहरु
म एस०एम०एसमा जोड्न खोजछु
अनि च्याटमा भुटिएका दिमागहरु
इमेलमा सन्तुलित बनाउन,
प्रमिथशले जस्तै
संसार बदल्ने सपनामा
कैयौँ मनहरु बेपत्ता बन्छन्
एस०एम०एस र साइबर संसारभित्रै
सपनाहरु परिस्थितीको च्यापमा परेर होइन
कोमल भएर त जल्छन्
अनि बिना बादल चट्किन्छन्
तिम्रो मनको आकाश जस्तै
छिनमै अनलाइन र छिनमै अफलाइन
बनेर,
जस्लाइ म बदलेर आफ्नो बनाउन सक्दिनँ
न साइबर संसारमा जस्तै भ्रम फैलाएर
आफ्नोलाई विरानो बनाउन सक्छु ।
त्यसैले विलकुल तिमी
मोबाइल र साइबर भन्दा
फरक छैनौ जस्को अस्तित्व
न म अस्विकृत गर्न सक्छु
न स्विकृतमा रमाउन
बस्--------सान्त्वनामा बिचरा भन्न सक्छु
आफैँलाई,
अनि बिना बादल चट्किएर
बर्षिएको हृदयको झरीले
मनको तिर्खा मेटाउन नसकेर
आफन्तहरुको भिडमा हराएर
आफैलाई सान्त्वनाका शब्दहरु
जवर्जस्ती थोपर्छु ।
बिचरा बसन्ती !
भैगो नरो संसार यस्तै छ !

बसन्ती बाँस्तोला
खैरेनीटार, ७ तनहुँ

2 comments:

Dipesh Gautam ( दिपेश गौतम ) said...

बसन्ती जी, तपाईँको मनोभाव पनि साइवर संसार जस्तै रहेछ । अदृष्य, निराकार र शुन्य । साइबरको अनन्त संसार अनि त्यस अनन्त भित्रको शुन्यता अनि केबल अपरिचित । खालि कल्पना मात्र गर्न सकिने, सुन्न मात्र सकिने, देख्‍न मात्र सकिने तर भोग्न नसकिने अनुभुतिशुन्य जस्तै । तपाईँको मन पनि कतै सइबर संसार जस्तै शुन्यमा बहकिने त होइन ?

सहयात्री said...

Nice poem, Keep it up.. best of luck for future...