Thursday, December 6, 2007

शृंगारदेखि वैराग्यसम्म

पिंगला, विक्रमादित्य र भतृहरि सम्वन्धि एक रोचक प्रसंग
स्वामी आनन्द
२ हजार वर्ष पूर्व उज्जयन भारतवर्षो राजधानी थियो । त्यस बेलाका दुइ प्रतापी दाजुभाइ राजा विक्रमादित्य र राजा भर्तृहरि आज पनि हिन्दुजगत्मा प्रसिद्ध छन् । यी दुवै मालवा नरेश गर्न्धर्व सेनका पुत्र थिए । राजा भर्तृहरि जेठा र विक्रमादित्य कान्छा थिए । विक्रमादित्य सानैदेखि अनुशासनप्रिय नियमनिष्ठ र विवेकशील थिए, तर भतृहरि संस्कृतका विद्वान्, दार्शनिक, भावुक, सज्जन, काव्य हृदयका रसिक र स्वच्छन्द प्रकृतिका थिए । राजपाठका लागि आवश्यक सबै गुण विक्रमात्यिमा देखेकाले राजा गर्न्धर्व सेनले उनलाई नै राज्याभिषेक गरी राजकाज दिन चाहन्थे, तर विक्रमादित्यले पिताको यो निर्णय ाई नीतिविपरीत भनी स्विकारेनन् र भतृहरिलाई राजपद दिन लगाए । भतृहरि पनि आफ्ना कान्छा भाइलाई अत्यन्त विश्वास र स्नेह गर्थे । उनले भाइ विक्रमादित्यलाई प्रधानमन्त्री बनाई राजकाजको सारा जिम्मेवारी जिम्मा लगाई आफ्नो स्वभावअनुसार सौर्न्दर्य र काव्यरसभोगमा डुब्थे । भतृहरिकी दुइ सुन्दर पत्नी थिए । तैपनि रूप लावण्य परिपूर्ण किशोरी पिंगलालाई देखेपछि उनले तेस्रो विवाह गर्ने निर्णय गरे । पिंगला अत्यन्त रूपवती हुनुका साथै धूत र चलाख थिई । प्रौढावस्थामा विवाहित कान्छी श्रीमती त्यसै पनि प्यारी हुन्छे, सौर्न्दर्य, चलाखीपनको पाशमा बाधिएका भावुक हृदयका भतृहरिलाई सजिलै कठपुतली बनाई पिंगलाले आफूखुसी राजकाजका निर्णय राजाबाट गराउन थाली । पिंगलाका कतिपय निर्णय नीतिविपरीत हुन्थे र त्यो विक्रमादित्यलाई असëय हुन्थ्यो । रानी पिंगला जति रूपवती र चलाख थिई त्यतिकै चरित्रहीन र धोकेवाज थिई । राजा भतृहरिलाई आफ्नो रूपमा गुलाम बनाइसकेर पनि उसलाई सन्तोष भएन । विक्रमादित्यलाई पनि आफ्नो रूपपाशमा बाँधेर आफ्नो गुलाम बनाउन ऊ चाहन्थी । विक्रमादित्य चरित्रवान् भएकाले त्यसमा ऊ असफल भई, तर अश्वशाला प्रमुख अत्यन्त बलिष्ठ तथा कामकलामा अति निपुण युवा चन्द्रचुर पिंगलाको सिकार बन्न पुगे । चन्द्रचुरको कामशक्तिबाट मोहित पिंगला राजासग भने प्रेम र र्समर्पणको स्वाङ रच्थी, तर उसको र्सवस्व भने चन्द्रचुरमै केन्द्रित थियो । कवि रहिमको पद छ, 'खैर, खुन, खासी, खुसी, वैर, प्रीत, मधुपानरहिमन दावे ना दवे जानत सकल जहां'-पानको कथ्था, हत्या, खोकी, आनन्द, दुस्मनी, प्रेम, मद्यपान यी कुरा जति दबाए पनि दब्दैनन्, संसारले यसका बारेमा थाहा पाइहाल्छ ।) यो कथनअनुरूप चन्द्रचुर र पिंगलाको प्रेम पनि धेरै दिन लुक्न सकेन । सबैभन्दा पहिले यसको छनक विक्रमादित्यलाई भयो । भाउजूको कुकृत्यबाट उनी पहिलेदेखि नै दुःखी थिए, तर अब परिवारको प्रतिष्ठा नै गुम्ने स्थिति आएपछि विक्रमादित्यलाई असëय भयो । दाजु उसको रूपजालमा पूर्णरूपले मोहित भएकाले यो कुरा दाजु भतृहरिलाई कसरी बुझाउने भन्ने चिन्ताले उनी ग्रस्त भए । पिंगला पनि अति चलाख भएकीले आफ्नो अवैध सम्बन्धको बारेमा विक्रमादित्यले चाल पाइसकेको उसले थाहा पाई र आफ्नो सुरक्षाका लागि राजा भतृहर्रि्रति अरू स्नेह र प्रेमको नाटक रच्न थाली, मानौं ऊ भतृहरिविना एकपल पनि बाँच्न सक्दिन । सहवासका क्षणमा स्त्रीले लठ्ठ परेको पुरुषको कानमा जे भर्छर्यो पुरुषको हृदयले सोझै स्विकार्छ । यस्तै क्षणहरूमा पिंगलाले पनि भतृहरिलाई विक्रमादित्यका विरुद्धमा नानाथरिका कुरा लगाउन थाली - 'विक्रमादित्यको चरित्र राम्रो छैन, आमासरहकी म भाउजूप्रति पनि उनको कुदृष्टि छ, साथै यस नगरसेठकी भरखरै बिहे गरेकी बुहारीप्रति पनि उसको दृष्टि राम्रो छैन । अलिकति आफ्नो भाइमा पनि नजर राख्नुहोला । उसले त हाम्रो राजवंशको इज्जत माटोमा मेटाउन थाल्यो, इत्यादि, इत्यादि ।' सहवासका मदहोस क्षणमा सुनिएका यी शब्दहरू कवि हृदयी भतृहरिको अचेतनमा गएर बसे ।
एक दिन खप्न नसकी मौका छोपेर विक्रमादित्यले भाउजूको कुकृत्यको बारेमा भतृहरिलाई सचेत गराउने चेष्टा गरे, 'दाजु, तपाईं भाउजूलाई अत्यन्त विश्वास गर्नुहुन्छ, तर मैले उहाको चरित्रको बारेमा केही शंकास्पद कुरा देखिरहेको छु ।' पिंगलाबाट सुनेको कुराले सम्मोहित भतृहरि एकदम रिसाए र केही सुन्नै नखोजी उनले हप्काए, 'विक्रमादित्य मैले सबै बुझेको छु, तिमीले किन देवीसरहकी पिंगलाको बारेमा यस्ता अपशब्द बोल्दै छौं । मेरो नजरबाट हटिहाल, मेरो रिसको कोपमा पर्यौं भने राम्रो हुनेछैन ।' जति बुझाउन खोजे पनि भतृहरिले उनको कुरा सुन्न मानेनन्, अझ उग्र भए । भविष्यमा हुने ठूलो दुघटनाको आशंकाले चिन्तित उनी भतृहरिको कोठाबाट बाहिरिए ।
पिंगलाले नगरसेठलाई बोलाई एक षड्यन्त्र रच्दै भनी, 'मेरो योजनानुसार काम गरे राज्यबाट अनेक सहयोग पाउँछौ, नत्र सारा परिवार नष्ट गरिदिन्छु' भनी भयानक धम्की दिई । नगरसेठलाई थाहा थियो राजा भतृहरि पिंगलाको औंलाको इसारामा नाच्छन् र उसको कुरा नमाने ठूलो विपत्ति आइलाग्ने निश्चित छ । यही डरले नगरसेठ रानीले भनेअनुसार गर्न तयार भए । अर्को दिन नगरसेठले राजाको दरबारमै आएर न्यायको गुहार माग्न थाले । राजाले के अन्याय भयो भनेर सोध्दा सेठले भने, 'तपाईंका भाइ विक्रमादित्य हाम्रो परिवारले भरखरै भित्र्याएकी हाम्री बुहारीप्रति आसक्त छन् र उसलाई फकाउन अनेक दूत र दासी पठाइरहन्छन् । हामीले प्रतिरोध गरे हाम्रो ज्यान लिने धम्की पठाउछन् । न्याय पाउm महाराज' यो सुनी भतृहरि रिसले बले र उनले विक्रमादित्यलाई बोलाई 'तिमी मेरो प्रिय भाइ भएकाले ज्यान बक्स दिन्छु, तर मेरो राज्यसीमाबाट बाहिर गइहाल' भनी आदेश दिए । विक्रमादित्यले सत्य बुझाउने प्रयास गरे, तर काममा अन्धो भतृहरिले केही सुन्न चाहेनन् । यो देखी विक्रमादित्यले भने, 'एक दिन यो अन्यायको लागि तपाईंले धेरै पछुताउनु पर्नेछ र मलाई सम्झेर धेरै रुनु पनि पर्नेछ । म परमात्मासग प्रार्थना गर्छु तपाईंको मंगल होस् र छिटै सद्बुद्धि पनि आवोस् ।' यति भनी उनी दरबारबाट बाहिरिए र वनमा गई तपस्या गर्न थाले ।
अब रानी पिंगलाको प्रत्यक्ष शासन चल्न थाल्यो । यसरी केही केही वर्षबिते । सोही राज्यका एक गरिब ब्राëमण एकपटक आफ्नो इष्टदेव सिद्ध गर्न घनघोर तपस्या गरिरहेको थिए । कथा छ कि उनको तपस्याबाट प्रसन्न भई उनका इष्टदेवले उनलाई दर्शन दिएर भने, 'त्रि्रो तपस्याबाट म प्रसन्न छु । म तिमीलाई यो शतायु फल दिँदै छु । यो फल खाएपछि तिमी सय वर्षम्म तिमी युवा र स्वस्थ बाँच्नेछौ ।' ती ब्राëमणले सोचे, 'म गरिब सय वर्षम्म बाँचेर के गर्ने - बरु यो फल राजालाई दिए भने उनले सय वर्षआयुसम्म राजकाज चलाउनेछन् र भोग गर्नेछन् अनि प्रसन्न भए भने मलाई पनि केही धन पनि दिनेछन् । त्यसबाट मेरो व्यवहार पनि चल्नेछ ।' यही सोची त्यो फल लिई राजाकहा आइपुगे । राजा भतृहरि त्यो गरिब ब्राëमणको आफूप्रतिको प्रेम र भक्ति देखी अति प्रसन्न भए र उसलाई अथोचित्त दान दिई बिदा गरे । राजाले सोचे, 'यो फल मैले आफैं खानुको साटो आफ्नी प्राणप्यारी रानी पिंगलालाई दिए भने उनको सौर्न्दर्य सधैं नूतन रहिरहन्छ र म उनीसग सय वर्षम्म भोग गर्न सक्छु ।' यही सोची त्यो फल लिएर उनी रानीवासतिर लागे र रानीलाई फल दिई सबै वृत्तान्त सुनाए । रानी पिंगलाले नखरा गर्दै भन्न थालिन्, 'प्राणनाथ यो त तपाईंले नै खानुपर्छ ।' तर राजाको आग्रहपछि पिंगलाले भनी, 'यो देवताको फल त्यतिकै खानु हुदैन, म नुहाएर पूजा गरी पवित्र भएर यो फल ग्रहण गर्नेछु, तपाईं निश्चिन्त भएर आफ्नो राजकाज हर्र्नुस् ।' राजा कोठीबाट बाहिरिनैबित्तिकै पिंगलाको मनमा अर्को विचार आयो र उसले आफ्ना गुप्तप्रेमी चन्द्रचुरलाई बोलाउन पर्ठाई र उसलाई अलिंगनमा भर्दै त्यो शतायु फलको बारेमा बताउँदै भनी, 'यो फल तिमी खाऊ र लामो समयसम्म मलाई यसरी नै प्रचण्डवेगले कामतृप्ति गराइराख ।' चन्द्रचुर त्यो शतायु फल लिएर घर आइपुगे । चन्द्रचुरको हृदय उज्जयनकी अति सुन्दरी नगरवधु रूपलेखाप्रति अतिशय आसक्त थियो । उनले सोचे, 'यदि यो फल मैले रूपलेखालाई दिए भने उसको यौवन सय वर्षम्म यस्तै आकर्ष भइरहन्छ र म उनको शरीरको भोग गरिरहन पाउछु ।' यो सोची उनी रूपलेखाको नाट्यशालामा आइपुगे र उसलाई भने, 'अहिलेसम्म मैले तिमीलाई केही बहुमूल्य उपहार दिनसकेको छैन, आज त्रि्रो लागि मैले अमूल्य उपहार लिएर आएको छु', यति भन्दै शतायु फलको बारेमा बताउदै उसलाई दिए । रूपलेखा त्यो फल पाएर खुसी भई र उसले भनी, 'म यो फल भोलि बिहान नुहाएर चोखो भएर खानेछु ।' तर राति उसका मनमा अनेक विचार खेल्न थाले, 'कुन जन्मको पापले यस जन्ममा मलाई अनेक पुरुषसग सहवास गरिरहनु परेको छ, अब म सय वर्षम्म जवान भइरहेँ भने आज जुन पुरुषले भोग्छ भोलि उसको छोरा र पर्सि उसको नातिले पनि आएर मलाई भोग्नेछन् । अब यो अधम शरीरलाई अझ जवान बनाएर पापै मात्रै किन कमाउनु -' एकचोटि उसले सोची यो फल फालिदिउm, तर मनमनै उसको राजा भतृहर्रि्रति गहिरो आसक्ति थियो । प्रेमी राजा भतृहरिको सौर्न्दर्य, काव्यप्रेम र विद्वत्ताबाट ऊ अत्यन्त प्रभावित थिई । 'यदि यो फल खाएर राजा सय वर्षम्म बाँचे भने मलाई पनि उनले प्रसन्न राख्नेछन् र राज्यको पनि कुशल संचालन गर्नेछन् र यो फल मैले उनलाई दिएँ भने म उनको विशेष कृपापात्र हुनेछु ।' यो सोच्दै ऊ राजमहल गई । रूपलेखाको नृत्य, संगीत र सौर्न्दर्यको भतृहरि ठूलो प्रशंसक थिए । त्यसकारण उसलाई राजालाई एकान्तमा भेट्न कुनै कठिनाइ भएन । अनुपम रूप, सौर्न्दर्य र मूल्यवान् शृंगारमा सजिएकी रूपलेखाले आफ्ना सुकोमल हातले राजाको हातमा त्यो अद्भुत फल राख्दै भनी, 'महाराज, आज मैले यो अद्भुत फल प्राप्त गरेकी छु, मैले खाएँ भने पाप मात्रै कमाउछु, तपाईंले खानुभयो भने सारा प्रजा पनि सुखी हुन्छन् ।' रूपलेखा भतृहरिको गुणगान गाउदै थिई । त्यो फल देखेर भतृहरिको होस उडिसकेको थियो । उनीभित्रको सारा मोह, प्रेम, रसरंग एकै क्षणमा बाफ बनेर उडिसकेको थियो । उनले कड्किँदै सोधे, 'यो फल तिमीलाई कसले दियो -' राजाको रौद्ररूप देखेर रूपलेखा भयभीत भई त्यो फल चन्द्रचुरले दिएको स्विकारी । तुरुन्तै राजाले चन्द्रचुरलाई समातेर हाजिर गराउने आज्ञा दिए । चन्द्रचुरलाई त्यो शतायु फल देखाउँदै सोधे, 'साँचो बताऊ यो फल तिमीले कहाबाट पायौं नत्र अहिले नै त्रि्रो शिरोच्छेदन हुनेछ ।' भयभीत चन्द्रचुरले त्यो फल रानी पिंगलाबाट पाएको बताउदै रानीसगको आफ्नो प्रेम सम्बन्धको सत्य ओकले । राजा भतृहरिको सारा मोह, प्रेम एकैक्षणमा विलीन भयो र उनमा तत्क्षण गहन वैराग्यको जन्म भयो । राजा भतृहरि सामान्य राजा भएका भए चन्द्रचुर र रानी पिंगला दुवैलाई प्रतिशोधको भावले मृत्युदण्ड दिन्थे होला, तर उनमा निर्मल ज्ञानको उदय भयो । त्यस क्षण उनले आफ्नो यो प्रसिद्ध श्लोक बोले जसको अर्थ हुन्छ, 'म शतत जसको चिन्तन गरिराख्छु, त्यो अन्य पुरुषलाई चाहन्छे र त्यो अन्य पुरुष चन्द्रचुर पिंगलालाई चाहन्न नर्तकी रूपलेखामाथि मर्छ । त्यो नर्तकी रूपलेखा मलाई प्रेम गर्छ धिक्कार छ त्यो रानीलाई, धिक्कार त्यो चन्द्रचुरलाई, धिक्कार छ त्यस रूपलेखालाई र धिक्कार म स्वयंलाई र सबैभन्दा बढी धिक्कार छ त्यस कामदेवलाई जसको वशीभूत भई मान्छे यस्तो नीच कर्म गर्न विवश छ' । यो कथन भतृहरि शतकम्को वैराग्यशतकको पहिलो श्लोक बन्न गयो । राजा भर्तृहरिलाई आफ्नो प्रिय भाइ विक्रादित्यका अन्तिम शब्दहरू सम्भना आए र उनले वनमा गई भाइलाई खोजे । भाइ विक्रमादित्यको राज्याभिषेक गरी राजपाठको कार्य उनलाई जिम्मा दिए । तिनै पराक्रमी राजा विक्रमादित्यको नाउमा विक्रम संवत् चल्यो । कुनै बेला मोह र काममा लिप्त तिनै राजा भतृहरि आफ्नो तपोबलले प्रसिद्ध योगी बने, जसबाट रचित श्रृंगार, नीति र वैराग्यका सय सय श्लोक 'भतृहरि शतकम्'का नाममा विश्वसाहित्यका अनमोल निधि बन्न पुगे ।
साभार: समय साप्ताहिक; वर्ष ४, अंक १८३,मंसिर १४-२०, २०६४

No comments: