Tuesday, December 26, 2006

संघात्मक जातीय स्वायत्तता र जातीय संकिर्णता

विकसित र सभ्य भनिएको २० औँ र २१ औँ शताब्दिसम्म आइपुग्दा पनि मानव समाजले विभिन्न साम्राज्यवादी युद्घ, आतंककारी युद्ध,धार्मिक युद्ध,जातीय र राष्ट्रिय मुक्ति युद्ध, वर्गीय मुक्ति युद्ध झेल्दै आएको छ । र अझ भनौँ भने यो शताब्दिमा त मानव इतिहासमै नदेखिएका भिषण युद्ध र नरसंहार देखिन थालेका छन् । यी सम्पूर्ण युद्धका प्रकृति फरक फरक छन् । त्यस कारणले यीनलाई एउटै आँखाले हेर्नु अनुपयुक्त मात्र होइन न्यायसंगत पनि हुँदैन । यी युद्धका कारणहरु के के हुन् भन्ने कुराको विश्लेषण अत्यन्त जटिल हुन्छ र त्यतातिर जाने हो भने एउटा पुस्तक नै तयार हुन्छ । यो सानो लेखमा जाती सम्बन्धि केहि सैद्धन्तिका अवधारणा र विश्वमा देखिएका जातीय मुक्ति युद्धका केहि उदाहरणहरु र यस सँग सम्बन्धित केहि मुद्दामात्र प्रस्तुत गर्दै सारभुत रुपमा नेपालको जातीय सवालमा नै बढि केन्द्रित हुने छु । पाठकहरुले यस लेखलाई सोहि अनुसार बुझिदिनुहोला भन्ने अपेक्षा गर्दछु ।

जाती, धार्मिक समुह, राष्ट्र र नश्लको सम्बन्धमा आमरुपमा सहि बुझाइको सट्टा थु्प्रै भ्रमहरुनै रहेको पाइन्छ । कतिपयले जाती र नश्ललाई एउटै हो भन्ने बुझ्ने गर्दछन् भने कतिपयले राष्ट्र भनेको कुनै एउटा देश वा भौगोलिक सिमानाको रुपमा बुझ्दछन् । अझ कतिपय ले त जाती र राष्ट्र गतिसिल सामाजिक तत्व नभएर एउटा स्थिर र अपरिवर्तनसिल तत्वको रुपमा बुझिराखेका हुन्छन् । त्यसकारण सबभन्दा पहिले जाती र राष्ट्र सम्बन्धि केहि सैद्धान्तिक अवधारणा प्रस्ट हुनु जरुरी हुन्छ जस् बिना जातीय द्वन्दलाई सहि रुपमा बुझेर त्यसलाई हल गर्न सकिन्न किनकि यहि बुझाइ र परिभाषाले नै जातीहरुको साधन श्रोतमाथिको अधिकारलाई निर्धारण गर्दछ ।

सर्व प्रथम त जाती भनेको के हो त्यसवारे सानो परिभाषा हेरौँ ।

जाती भनेको मानिसहरुको त्यो समुह हो जसका सदस्यले कुनै एउटै पुर्खा,एउटै संस्कृति र एउटै भाषाका आधारमा आफूलाई चिनाउँछ । अब यहाँ प्रस्न आउँछ कि मान्छेको पुर्खा केलाउँदै जाने हो भने त सम्पूर्ण मानव नै एउटा साझा पुर्खाबाट आएको हो र के सबै मानव एउटै जाती हो त ? होइन । त्यसोभए साझा पुर्खा केलाई भन्ने त ? हो यो चाहिँ कुनै निश्चित जाती समुहको छनोटमा आधारित हुन्छ र यो छनोटको आधार भनेको ती जातीमा चलेको लोक श्रुती, कथा वा अन्य कुनै चाडपर्व वा रितिरिवाजले निर्धारण गर्दछ । अब अर्को भ्रमलाई पनि प्रस्ट पार्नु जरुरी छ । त्यो के हो भने जाती र नश्ल उस्तै लागे पनि यी दुई फरक कुरा हुन् । जाती एउटा सामाजीक तत्व हो भने नश्ल जैविक तत्व हो । यसको मतलव एउटै नश्लका पनि फरक जाती हुन सक्छन् र मेरो विचारमा एउटै जतीका फरक नश्ल पनि हुन सक्छन् (जस्तै नेवार जाती)। तर एउटै जातीका फरक नश्ल हुने कुरालाई बहसमै राख्नु उचित होला ।

अब राष्ट्र को परिभाषालाई हेरौँ ।

राष्ट्र भनेको कुनै निस्चित इलाकामा लामो समय देखि बसोबास गर्दै आएका मानिसहरुको त्यो समुह हो जसका सदस्यहरुको साझा पुर्खा, साझा भाषा र साझा संस्कृति हुन्छ । यहाँ जाती र राष्ट्र एउटै कुरा जस्तो लाग्न सक्छ तर जातीले सार्वभौमिकताको प्रतिनिधित्व गर्दैन तर राष्ट्रले सार्वभौमिकताको प्रतिनिधित्व गर्छ । यसको मतलव कुनै जाती संसारको जुनसुकै ठाउँमा पनि छरिएर बसेको हुन सक्छ र उसको राष्ट्रियता फरक हुन सक्छ ।

स्टालिनको परिभाषा अनुसार राष्ट्र भनेको मानिसहरुको त्यो समुह हो जसको एउटै भाषा, एउटै इलाका, एउटै आर्थिक जीवन र ऐउटै मनोविज्ञान अभिव्यक्त हुने एउटै संस्कृति हुन्छ ।

आमरुपमा राष्ट्र र देशलाई एउटै अर्थमा बुझ्ने प्रचलन छ र यसले कतिपय ठउँमा भ्रम पनि श्रृजना गर्छ । देश भनेको प्रसाशनिक संरचना को अर्थमा र राष्ट्र भनेको सामाजिक एकाइको अर्थमा बुझ्दा उपयुक्त हुन्छ ।

नेपालमा बसोवास गर्ने बिभिन्न समुहका मानिसहरुमा जाती र राष्ट्र बन्नकालागि चाहिने सम्पूर्ण गुण भएकाले नेपाल पनि बहु जातीय र बहु-राष्ट्रिय (लेखकको शब्द) देश हो भन्ने कुरामा अब भ्रम रहनु हुन्न । यद्यपि कुन कुन जातीमा राष्ट्र बन्नको लागि चाहिने गुण रहेको छ भन्ने कुरा बहसको विषय हुन सक्छ ।

अब यी परिभाषालाई यहिँ टुङ्ग्याउँ ।

जाती र राष्ट्र सम्बन्धि अवधारणाबाट के कुरा प्रस्ट हुन्छ भने, जाती र राष्ट्र भनेका कुनै स्थायी र स्थिर बस्तु नभएर यी निरन्तर गतिशिल ऐतिहासिक चिज हुन् । इतिहासमा पुराना जाती परिवर्तन हुने वा पतन हुने अनि फेरी नयाँ जाती बन्ने क्रम चलिरहेको हुन्छ । राष्ट्र र जातीको यहि गतिसिलताका कारणले जातीय पहिचान र राष्ट्रिय पहिचानको संघर्ष निरन्तर चलिरहेको हुन्छ । जहाँ जातीय र राष्ट्रिय अस्तित्वलाई स्विकारिन्छ त्यहाँ संघर्ष शान्तिपूर्ण हुन्छन् जहाँ गरिँदैन त्यहाँ हिंसात्मक हुन्छन् ।

अहिले नेपालमा राज्यको पुनरसंरचनाको बहस गरमागरम चलेको छ । राज्य पुनरसंरचना संगै जातीय मुद्दा पनि एकदम गरमागरम रुपमा सतहमा देखा परेको छ र यसले बिभिन्न विरोध, बन्द र धर्ना जास्ता संघर्षका रुपहरु पनि देखाउन सुरु गरेको छ । कतिपय अवस्थामा चाहिँ स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको इसारामा जातीय र क्षत्रीय बिखण्डन ल्याउने कुत्सित प्रयास पनि भएको छ । त्यसकारण आम मानिसमा के भ्रम पर्न सक्छ भने जातीय सवाल उठाउनु भनेको नेपालको सार्वभौमिकतामा खलल पुर्र्यउनु हो र जातीय द्वन्द निम्त्याउनु हो । अहिले को अवस्थामा यो भ्रमबाट मुक्त हुनु नितान्त जरुरी छ ।

वास्तवमा जातीय अस्तित्वलाई स्विकार्नु भनेको नेपालको सामाजिक बनोटलाई स्विकार्नु हो र सोहि अनुरुपको राज्य संरचनालाई स्विकार्नु हो । हिजो इतिहासमा नेपाली समाज काविलाई गणतन्त्रमा आधारित थियो । तर पृथ्विनारायण शाहको नेतृत्वमा केन्द्रिकृत सामन्ति राज्यसत्ता स्थापना भएपछि विभिन्न जात जातीमाथि सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक र भाषिक थिचोमिचो हुँदै आयो फलस्वरुप अधिकांस ती जातीहरु विकासमा पछाडि पर्न गए । यसले समाजमा भिषण द्वन्द निम्त्यायो र त्यो द्वन्द अहिले घनिभुत भएको छ । यसलाई समयमा नै निरुपण गर्ने एकमात्र उपाय भनेको जातीय स्वायत्तता सहितको आत्मनिर्णयको अधिकारलाई स्विकार्नु हो । यसलाई अस्विकार गरेको खण्डमा अव नेपाल अन्तहिन गृहयुद्धमा फस्ने खतरा छ । जातीय सवाललाई खाली सार्वभौमिकताको सवालसँग मात्र जोड्ने आदर्शवादी कुराले नेपालमा कहिले पनि जातीहरु विच भावनात्मक एकता हुन सम्भव छैन ।

आत्मनिर्णयको अवधारणा भनेको सैद्धान्तिक अवधारणा हो र यसले सैद्धान्तिक रुपमा जातीहरुलाई स्वतन्त्र रुपमा छुट्टिएर बस्ने सम्म को अधिकार प्रदान गर्छ । यो एक हिसावले लोग्ने स्वास्नी बिचमा डिभोर्स गर्ने अधिकार प्रदान गर्नु जस्तै हो । अनि स्वायत्तता भनेको चाहिँ जातीय अधिकारलाई सुनिस्चित गर्ने राजनैतिक कार्यक्रम हो ।

आत्मनिर्णयको अधिकार कुनै नौलो अवधारणा होइन । यसको उत्थान युरोपका विभिन्न जाती र औपनिवेसिक राष्ट्रहरुको स्वतन्त्रता संघर्षका क्रममा भएको हो । ठोस रुपमा लेनिनले पहिलोपटक विभिन्न जाती र राष्ट्रलाई आत्मनिर्णयको अधिकार प्रदान गर्दै विशाल स्वभियत संघ खडा गरेका हुन् । यसलाई संयुक्तराष्ट्रसंघको बडापत्रमा पनि स्विकारीएको छ र विभिन्न देशले यसलाई आ-आफ्नै विशिष्टता अनुसार लागू पनि गरेका छन् । त्यसकारण आत्मनिर्णयको अधिकारलाई सैद्घान्तिक रुपमा स्विकार्ने बित्तिक्कै देश विखण्डन हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु पर्छ । बरु त्यसलाई नस्विकार्दा चाहिँ देश बिखण्डन र द्वन्दमा फस्ने सम्भावना बढि हुने कुरा चाहिँ भारतको नागाहरुको बिद्रोह, कास्मिरी संघर्ष, श्रृलंकाको तामिल युद्ध,प्यालेस्टाइनी संघर्ष, अनि विश्वका अन्य पृथकतावादी आन्दोलनलाई हेर्दा प्रस्ट हुन्छ । कतिपय अवस्थामा "छुट्टिने अधिकार" भन्ने बित्तिक्कै डराउने वा नस्विकार्ने गरिन्छ । तर कुरा के हो भने एकता भनेको प्राविधिक वा प्रसाशनिक होइन भावनात्मक एकता हुनु पर्छ । यदि तपाईँ कसैको छुट्टिने अधिकारको सम्मान गर्नु हुन्न भने तपाईँको त्यस जातीय संकिर्णताले चाहिँ अवस्य द्वन्द र विखण्डन निम्ताउँछ ।

दिपेश गौतम
Chosun University
S. Korea

Friday, December 8, 2006

शिक्षामा जापानबाट सिक्नुपर्ने पाठ (पाण्डवराज कार्की)

जापानमा राजतन्त्रको प्रत्यक्ष शासन हुने बेलासम्म त्यहाँका जनता अहिले नेपालमा जति शिक्षित छन्, त्यति पनि थिएनन् । चारैतिर पानी नै पानीले घेरिएका स-साना थुम्काको अगणित श्रेणीबद्ध भौगोलिक स्थिति भएको जापानमा यदाकदा खुलेका स्कुलमा सन्तानलाई पठाउनसमेत जापानीलाई निकै समस्या थियो । पढ्न जाने बच्चा कि घन्टौं पैदल हिंड्नुपथ्र्यो वा डुंगा खियाएर जानुपर्ने बाध्यता थियो । सबैतिर स्कुल खुलेका थिएनन् । तत्कालीन निरकुंश कठोर राजतन्त्रको दवदवामा रहेको जापानी जनताको योग्यताको कदरसमेत नहुने भएकाले अध्ययनका लागि कोही पनि इच्छुक थिएन । बहुसंख्यक जनता अशिक्षित भएकाले आर्थिक उन्नतिसमेत नभएको जापान तत्कालीन विश्व मानचित्रमा भौगोलिक उपस्थितिबाहेक थप कुनै नाम र चर्चामा थिएन । विश्वले जापानलाई चिनेको समेत थिएन ।जापानी राजतन्त्रले द्वितीय विश्वयुद्धमा पराजित भएपछि समावेशी लोकतन्त्रका आधारमा शासन पद्धति सुरु गर्‍यो । र देशको सर्वाङ्गीण विकासका लागि उठाएको पहिलो पाइलो पाँच दशकअघि ल्याएको नयाँ शिक्षा कार्यक्रम थियो । त्यसबेलादेखि अहिलेसम्म शिक्षामा सर्वाधिक जोड दिएको जापानले राष्ट्रिय बजेटको उल्लेख्य अंश शिक्षामा नै खर्च गरेको छ । विश्वभरका विकासको इतिहासलाई सिंहावलोकन गर्ने हो भने जुन देशमा शिक्षामा जोड दिएको छ, त्यो देशका जनताले स्वदेशमा अवसर नभएमा विदेश गएर भए पनि आम्दानी गर्छन् । \'विद्वान् सर्वत्र पूज्यते\' भन्ने मान्यता छ । राज्यले आफ्ना नागरिकलाई युग अनुकूल शिक्षा दिन सक्यो भने त्यो देशले अवश्यमेव उन्नति गर्न सक्छ भन्ने विश्वका धेरै देशको उदाहरणबाट पुष्टि भइसकेको छ ।नयाँ शिक्षा नीति लागू गरेपछि जापानले कथित राष्ट्रवादी शिक्षाभन्दा पनि व्यावहारिक शिक्षा प्रणाली लागू गरेको थियो । जापानका प्रत्येक नागरिकले नौ वर्ष अवधिको स्कुल शिक्षा अनिवार्यरूपमा लिनुपर्छ । यदि कसैले आफ्ना बच्चालाई पढाएन भने गम्भीर सामाजिक अपराधका रूपमा अभिभावकलाई सजाय दिने व्यवस्था छ । अभिभावकले बच्चा पढाउने आयस्ता नभएको प्रमाणित गराउन सक्छ भने राज्यले उसको बच्चा पढाउने खर्चका लागि छुट दिने, कर मिनाहा गर्ने, बच्चालाई बिहानको खाना निःशुल्क खुवाउने, आकर्षक छात्रवृत्ति दिने कार्यक्रम छन् । धेरै खर्च गर्न नपरोस् भनेर प्रत्येक स्थानका जनतालाई पायक पर्नेगरी स्कुल व्यवस्था गरिएको छ । यो प्रावधान सरकारी तथा निजी विद्यालय दुवैमा लागू हुन्छ ।जापानका दूरदराजदेखि टोकियो, ओशाकाजस्ता स्कुलमा समान सुविधा हुन्छ । टोकियोका सरकारी स्कुलमा सबैका कम्तीमा आफ्नै फुटबल मैदान हुन्छ । शिक्षक र विद्यार्थी सबैलाई उच्च प्रविधियुक्त पूर्वाधार र सुविधा बराबर हुन्छ । तर कतिपय स्कुलमा अभिभावकले साना र ठूला बच्चाको आवश्यकता अनुसार गहिराइ घटाउन बढाउन मिल्ने अत्याधुनिक स्विमिङ पुल बनाइदिने गरेका हुन्छन् ।जनजीवनमा शिक्षालाई कतिसम्म अनिवार्य बनाइएको छ भने स्थानीय गाउँ विकास समितिदेखि संसद्को चुनावमा लड्ने पार्टीका उम्मेदवारलाई चुनाव चिह्न दिइएको हुँदैन । उनीहरूले उम्मेदवारको नाम पढेर अनि लेखेर नै मतदान गर्नुपर्छ । जापानमा कमजोर विद्यार्थीले बीचैमा अध्ययन नछाडून् भनेर सम्पूर्ण विद्यार्थीलाई अनिवार्यरूपमा उत्तीर्ण गराउने नीति छ । ९ कक्षासम्म अध्ययन गर्दा विद्यार्थीलाई प्रथम र अरू द्वितीय श्रेणीमा छुट्टयाइँदैन ।स्कुल शिक्षामा पनि नौ वर्षसम्म सम्पूर्ण विद्यार्थीले एकै प्रकारका पाठ्यक्रम सिकाइएको हुन्छ । त्यतिबेलासम्म उनीहरूलाई जापानी संस्कृति, भाषा र मूल्य मान्यता नै बढी पढाउने गरिएको हुन्छ । पछिल्ला तीन वर्षमा ऐच्छिक विषय हुन्छन् । त्यसपछि छोटो समयमा अध्ययन पूरा गर्ने चाहना भएकाहरू व्यावसायिक कलेजहरूमा जान्छन् भने बाँकी विश्वविद्यालयमा जान्छन् । जापानले आर्थिक हैसियत उच्च भएकालाई पर्याप्त प्राज्ञिक पाठ्यक्रम निर्धारण गरेको छ भने पढाइ सकिनेबित्तिकै तुरुन्तै काम पाइने व्यावसायिक कोर्षहरूको व्यवस्था छ । विश्वविद्यालय वा व्यावसायिक प्रतिष्ठानको परीक्षाको परिणाम नआउँदै जापानमा अध्ययन गर्ने विद्यार्थीले आफू अध्ययनरत संस्थाकै सूचनापार्टीमा टाँसिएका विज्ञापनमार्फत रोजगारी सुरु गरिसकेका हुन्छन् ।जापानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आफूलाई आवश्यक पर्ने कामदार सम्बन्धित विश्वविद्यालय तथा व्यावसायिक प्रतिष्ठानबाट नै चुपचाप छनोट गरेर लैजान्छन् । किनभने जापानी शिक्षा प्रणालीअनुसार तल्लो तहदेखि नै अत्यन्त व्यावहारिक शिक्षा दिने गरिएको हुन्छ ।शिक्षालाई प्रभावकारी बनाउने शिक्षकहरूको प्रत्येक दुई वा तीन वर्षमा परीक्षा लिने गरिएको हुन्छ । विद्यार्थी जीवनमा कोही पनि असफल हुनुपर्दैन तर शिक्षकको परीक्षामा भने ऊ उत्तीर्ण हुनैपर्छ अन्यथा उसले पढाउन पाउँदैन । जापानमा उच्चतहसम्म अध्ययनलाई प्रोत्साहन गर्न कुनै कम्पनी वा सरकारी निकायमा समेत समान काम गर्नेलाई शैक्षिक योग्यताका आधारमा तलब दर निर्धारण गरिएको हुन्छ । त्यसैले जापानी अधिकांश उच्चअध्ययन गर्न चाहन्छन् । यहाँसम्मकी उच्चअध्ययन गरेका व्यवसायीलाई समेत केही सहुलियत सरकारले दिनेगरेको छ । जापानले सम्पूर्ण नागरिकलाई उच्चअध्ययनका लागि प्रोत्साहित गर्ने उद्देश्यले यो व्यवस्था राखिएको हो ।जापानमा उच्च शिक्षित विद्यार्थीलाई तत्काल रोजगारीको व्यवस्था गर्न विश्वविद्यालय र कम्पनीबीच निरन्तर अन्तरक्रिया र समन्वय हुन्छ । विश्वविद्यालयले नै अध्ययन सम्पन्न गरेका विद्यार्थीको रोजगारीको सम्बन्धमा चिन्ता व्यक्त गरेको हुन्छ । त्यसैले जापानमा बेरोजगारी दर अत्यन्त न्यून रहेको हो । जापानमा प्रत्येक वर्ष ३५ लाख जतिले स्नातक गर्छन् र उनीहरू सबैलाई शैक्षिक संस्थाहरूले समन्वयका आधारमा रोजगारीका अवसर उपलब्ध गराएका हुन्छन् ।यही व्यवस्थाका कारण जापानमा अध्ययनका लागि गएका नेपाली अधिकांश उतै आकर्षक काम गरेर बस्दै आएका छन् । किनभने जापानी र विदेशी विद्यार्थीबीच जापानमा कुनै भेदभाव हुँदैन । उनीहरूलाई समान तलब तथा अन्य सुविधा दिनेगरिएको हुन्छ । जापानी विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण कसरी पनि वृद्धि भइरहेको हुन्छ भने भर्ना पाउन अत्यन्त गाह्रो छ तर पास गर्न सजिलो छ । जापानमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई सहयोग गर्ने प्राध्यापक तथा सहयोगीहरू विद्यार्थी कलेज जानुभन्दा अघि नै पुग्छन् र विद्यार्थी गइसकेपछि पनि केही बेर बसेर जान्छन् । उसलाई आवश्यक पर्ने सम्पूर्ण शैक्षिक सामग्रीसमेत उनीहरूले नै उपलब्ध गराइदिन्छन् ।जापानको शिक्षा प्रणालीले उनीहरूलाई यति नम्र बनाइदिन्छ कि उनीहरू कहिल्यै पनि कसैसँग झर्केर बोल्दैनन् । सामाजिक व्यवस्था सन्तुलित बनाउन शिक्षाको सम्पूर्ण केन्द्रविन्दु भएकाले उनीहरू जीवनमा अत्यन्त सहयोगी मृदुभाषी र कम बोल्ने हुन्छन् । उनीहरूलाई शिक्षा दिने समयमा अत्यन्त व्यस्त बनाउने गरिएकाले कम बोल्ने बानी परिसकेको हुन्छ ।जापानमा विद्यार्थीलाई सांसदहरूसँग अन्तरक्रिया गराएर जिम्मेवार बनाउने गरिन्छ । समय-समयमा देशका समस्या समाधानका लागि उपाय सुझाउन विद्यार्थीलाई आग्रह गरिन्छ । अहिले जापानी विद्यार्थीलाई घरबारविहीनको बढ्दो संख्या नियन्त्रणका लागि उपाय सुझाउन आग्रह गरिएको छ । कुनै पनि व्यवसायप्रति घृणा र उचनिच व्यवहार नगर्ने संस्कृति सिकाइएका जापानी विद्यार्थीले तिलस्मी उपाय सुझाउने गरेका र त्यसको अनुशरण सरकारले गरेका थुप्रै उदाहरण भेटिन्छन् । उनीहरूलाई सानैदेखि औपचारिक कार्यक्रमहरूमा समेत लगेर देशको चिन्तन गर्ने बानी सिकाइएको हुन्छ ।कथित राष्ट्रवादी शिक्षा लदाएर विद्यार्थीमा देशप्रेम जाग्दैन, उनीहरूलाई समावेश गरेरमात्र उनीहरू देशप्रति बढी झुकाव राख्छन् । पारदर्शी र व्यवस्थित शिक्षा प्रणाली भयो भने र शिक्षित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकियो भने कुनै राष्ट्रवादी शिक्षाको आवश्यकता नै पर्दैन । आधुनिकीकरणलाई आत्मसात गर्दै गएको जापानी शिक्षाको एउटा मूलभूत अन्तरनिहित उद्देश्य के पनि रहेको छ भने प्रतिभाशाली जापानी देशकै लागि काम गरून् भन्ने प्रकारको शैक्षिक पाठ्यक्रम निर्धारण गरिएको छ । यद्यपि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले जापानीलाई विश्वका विभिन्न मुलुकमा काम गराएको छ ।राणाकालीन प्रधानमन्त्रीहरू चन्द्रशमशेर, देवशमशेरलाई १८९९ मा नेपालमा समेत शिक्षाको विकास गर्न केही जापानीले सुझाव दिएका थिए । उनीहरूलाई त्यतिबेला नेपालमा ५ सय विद्यालय खोल्न जापानीले भनेका थिए । तर त्यतिबेला त्यो सुझाव अनुशरण गरिएन । जापानमा नेपालीले अध्ययन गर्न थालेको शताब्दीभन्दा पनि बढी भएको छ । त्यसैले अहिले नेपाललाई जापानको जस्तै शिक्षा आवश्यक छ ।नेपालमा शिक्षण संस्थाका नाम फरक-फरक हुने भएकाले जापानमा नेपाली विद्यार्थीलाई जान निकै समस्या पर्नेगरेको छ । कम्तीमा पनि नाममा एकरूपता गराउन सकियो भने पनि विदेशमा अध्ययन गर्न जाने नेपालीलाई निकै सहयोग पुग्छ । जापानमा विश्वविद्यालयले आफ्ना नागरिकलाई भन्दा विदेशीलाई शुल्कसमेत ३० प्रतिशत कम लिने गरेको छ । केही समय पहिला कलिला विद्यार्थीलाई प्राथमिकताका साथ भर्ना लिने गरेको जापानले अहिले पाका विद्यार्थीलाई प्राथमिकता दिने गरेको छ । यसबाट थुपै्र नेपाली लाभान्वित हुन सक्छन् ।जापानमा शिक्षाका कारण जुन प्रगति भएको छ, त्यस्तै उपलब्धिको अपेक्षा गर्ने हो भने नेपालमा कसैको आत्मसन्तुष्टिका लागि पाठ्यक्रम निर्धारण गर्नुभन्दा पनि युग अनुकूल र नेपालको भौगोलिक अवस्था अनुसारको पाठ्यक्रम निर्धारण गर्नुपर्छ जुन शिक्षा देशको निर्माणमा सहयोगी सिद्ध होस् ।
(लेखक जापानस्थित द साकुरा फाउन्डेसनका निर्देशक हुन् ) कान्तिपुरबाट

Wednesday, December 6, 2006

माफ गर्नुहोला

माफ गर्नुहोला मेरा शुभचिन्तक साथीहरु, मैले यो ब्लग त सुरु गरेँ तर समयको अभावले गर्दा यसलाई update गर्न सकिराखेको छैन । अहिले पढाईको चाप अलि बढेकाले यतातिर ध्यानदिन सकिएको छैन । फेरी म आफ्नो मौलिक रचना पनि यसमा समावेस गर्न चाहन्छु । केहि पछि समय मिलाएर त्यी रचनाहरु पनि राख्ने छु । हेर्दै गर्नुहोला ।

Saturday, December 2, 2006

भैरवनाथ गणका दुई सय छैसठ्ठी दिन

गणेश ढकाल

सन् २००३ मा पक्राउ गरी राजधानीको भैरवनाथगणमा बेपत्ता पारिएका वा हत्या गरिएका भनिएकाहरूको स्थिति पत्ता लगाउन सरकारले छानबिन आयोग गठन गर्‍यो । तर त्यसले वास्तविकतालाई पर धकेल्दै हत्या वा बेपत्तामा संलग्न सेनाको मनोबल उच्च बनाएको छ । संयोगले बाँच्न सफल अर्थात् घटनाका जीवित साक्षीहरूलाई अहिले पनि पंगु बनाउने काम नेपाल सरकारले गरिरहेको छ ।
म्ा लगायत अन्य तीन जनालाई २००३ डिसेम्बर ३ मा राजधानीको घट्टेकुलो हाइट घर नं ४४९/ ८१ बाट शाही सेनाका कर्नेल राजु बस्नेतको नेतृत्वमा अपहरण शैलीमा गिरफ्तार गरिएको थियो । अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको घर नजिकै राजभण्डारीको घरमा म बस्थेँ । मेरो स्थायी घर ओख्रे २, तेह्रथुम हो र म मैतीदेवी उच्च माध्यमिक विद्यालयमा पढाउँथ्ोँ र त्रिचन्द्र कलेजमा पढ्थेँ ।

त्यसदिन बेलुका ५.१५ बजे म लगायत शिक्षक साथी रमेशप्रसाद गुरागाईं, कृष्णराज केसी र निश्चल नकर्मीलाई मेरो कोठाबाट गिरफ्तार गरियो । शिक्षकद्वय मसँग परिचित व्यtmि हुन् भने निश्चल नकर्मीसँग पहिलोपटक चिनजान भएको थियो ।

आँखामा कालो पट्टी बाँधी पाता कसेर हामीलाई सेतो भ्यानमा लैजाँदा कमाण्डर राजु बस्नेतले निश्चललाई धम्की दिँदै थिए, 'तँलाई पक्रेर हामीले ठूलो विजय गर्‍यौं । हामी जे पनि गर्न सक्छौं, तर मार्दैनौं ।' भाग्यवश् म र अन्य दुई शिक्षक बाँच्यौं, तर निश्चलको अवस्था अझै अज्ञात छ ।

मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग -ओएचसीएचआर) ले २६ मई २००६ को प्रतिवेदनमा समेत निश्चल लगायत ४९ जना भैरवनाथगणबाट बेपत्ता पारिएको उल्लेख गरेको थियो । म उक्त घटनाको जीवित साक्षीमध्ये एक हुँ । विषेश परिस्थितिवश घटनाबारे पहिलोपटक सञ्चारमाध्यममा प्रस्तुत हँुदैछु ।

मलाई लागेको थियो, जनआन्दोलनबाट बनेको सरकारले भैरवनाथका बेपत्ता बन्दी लगायत मोरङका कुवीर आपागाइर्ं, गोपाल दंगाल, तेह्रथुम ओख्रेका राजकुमार खड्का, भैरव पाहिम आदि लगायत देशैभरिका सयौं बेपत्ताको अवस्था सार्वजनिक गर्दै गणका अपराधीहरूलाई अदालतको कठघरामा ल्याउनेछ । तर सेनाको षडयन्त्रपूर्ण किर्ते प्रतिवेदनलाई वैधता दिइयो ।

बन्दी अवस्थाका २६० दिनसम्म मैले बाँचेर संसार हेर्ने आश गरेको थिइन । चौबीसै घन्टा आँखामा कालो पट्टी र घाँटीसम्म आउने कालो मखुण्डो, हात पछाडि टनक्क पारेर बाँध्ने, दुई गाँस बासी भात पनि सुविस्तासँग खान नदिने, लागेको बेला दिसापिसाब गर्न नदिने । शौचालय जाँदा-आउँदा चरम यातना दिने, अधिकांश रात प्रत्येक घन्टा १५-२० मिनेटसम्म उभ्याएर उप|mन लगाउने, महिनौं दिनसम्म नुहाउन, दाँत मोल्न नदिने, अधिकांश बिहान नसक्दा पनि कडा व्यायाम गर्न लगाउने, एकले अर्कोलाई काँधमा बोक्न लगाउने, टाउको टेकेर खुट्टा ठाडो गर्न लगाउने र नसक्दा थप यातना पाउनुपर्ने, कथित अनुशासन पालन नगरेको आरोपमा अन्य यातना दिने, जाँडले टिल्ल अधिकृतद्वारा मध्यरातमा कुटिनुपर्ने, महिलाबन्दीहरूलाई आमाचकारी गाली गर्ने आदि थिए ।

अन्य यातनामा लुगा फुकालेर भुइँमा लडाएर दसौं प्लाष्टिकका मसिना पाइप शरीरमा बजार्ने, उठाउँदै बुटले हान्दै लडाउने, बरफ पानीमा डुबाउने, पिसाबको खाल्डोमा चोबल्ने, बिजुलीको झड्का लगाउने आदि हुन् । यी यातना सुरुमा अनिवार्य थिए भने पछि सेनाको मुडमा भर पर्ने कुरा थिए । गालीगलौजको त कुरै नगरांै ।

म, रमेश, कृष्ण सरलाई लगेको दिन कैयन यातनासहित भैरवनाथगणको ग्यारेजमा राखियो । उता निश्चललाई केही समय हामीसँगै नाजुक अवस्था हुँदासम्म यातना दिइयो । केही घन्टापछि उसलाई हामीबाट अलग्याइयो । प्ाछि माघ २२ मा हामी सबैलाई स्क्वास हलमा लैजाँदा थाहा भयो, निश्चललाई पनि स्क्वास हलमा अन्य बन्दीसँगै मंसिर १७ देखि नै सारिएको रहेछ । हलका बन्दी साथीहरूबाट अवगत भयो, पुस ५ सम्म निश्चल र अन्य ४७ जनालाई उक्त हल र अन्य पालबाट निकालेर ट्रकमा कोचेर बाहिर निकालिएको रहेछ ।

ग्यारेजमा लगेर कैयन बन्दीहरूसँग भुइँमा लडाइयो । खतरा मोलेरै भए पनि सँगै सुतेका तर एक महिनादेखि उक्त कालकोठरीमा अभ्यस्त भइसकेका तर हाम्रै हालतमा लडाइएकालाई मैले साउती मारेर सोधेँ, उनले भने- यहाँ ७ महिलासहित ३६ बन्दी छौं । नजिकैको स्क्वास हलमा लगभग ७० जना हुनुपर्छ । बाहिरको रोइकराइ अभ्यस्त भएपछि मसिनो गरी सुनिँदो रहेछ ।

रेवकला तिवारी, दुर्गा विशंखे, रेनुका दुलाल, कौशिल्या पोख्रेल, विना मगर, तारा भण्डारी र सरिता शर्मा महिला बन्दीका नाम थिए । ७ जनामध्ये पछिल्ला ३ जनासँग हामी पूरै समय सँगै बस्यौं भने पहिला ४ बन्दीसँग लगभग १५-२० दिनमात्र सँगै बस्यौं होला ।

मंसिर २९ गतेतिर हामी सबैलाई बाहिर निकालियो । २ महिनादेखि नुहाउन नपाएका बन्दीलाई चिसो पानी खन्याउने कार्यक्रम रहेछ । मलाई महिला बन्दी नजिक राखियो । रेवकला तिवारीले नाम भनेकी थिइन् । मलाई याद भयो, उनी हामीभन्दा १ महिना अघिदेखि बेपत्ता थिइन् । मैले आङ तन्काउने बहानामा आँखाको डाँडीबाट हेर्दा रेवकलाले क्रिम कलरको सुट-पाइन्ट भित्र उस्तै कलरको टिसर्ट लगाएकी रहिछन् । कौशिल्या र दुर्गाले कुर्ता-सुरुवाल लगाएका थिए । यसैक्रममा आँखा तन्काउँछस् भन्दै सेनाको जवानले मलाई नराम्रोसँग बुट बजार्‍यो ।

जावलाखेलका खड्गबहादुर घर्ती मगरलाई २ महिना पहिले ल्याएका रहेछन् । उनी अचेत हुने गर्थे । मंसिरको अन्तिमतिर झाडापखालाको औषधी नपाउँदा मध्यरातमा उनी अचेत भए । राति २ बजे कम्पाउन्डर आएर सलाइन पानी दियो । त्यतिखेरैदेखि उनी हिँडेर शौचालय जान सक्दैनथे । अन्य बन्दीहरूमा किरण राय उदयपुरतिरका हुनुपर्छ, उनी २८-३० वर्षका, अनुुहारमा खत भएका थिए । उनी सेनाबाट पिटाइ खाने डरले आँखा टम्म बाँध्ने गर्थे । उनको आँखा ऐँजरुले ढाकिसकेको थियो ।

मंसिर १८ गते पुष्पराज बस्नेतलाई कालिमाटीबाट पक्रेर बाहिर अनेकन यातना दिइसकेपछि बेलुका मसँग्ौ ग्यारेजमा लडाइयो । हामी साउती मार्न सफल भयौं । जगतमन्दिर उच्च मावि चावहिलमा अध्यापन गर्दा हामी राम्रैस्ाँग परिचित थियौं । कुराकानी गर्न सजिल्ाो भयो । उनको शरीर मुडोजस्तै सुन्निएको र कानबाट रगत बगेको थियो । हातका औंलाहरू चल्दैनथे । उनी नम्ा्र शब्दमा भन्थे, यतिका यातना दिनुभन्दा एक गोली खर्च गर । मंसिर १९ गते हीराबहादुर रोक्कालाई राति त्यसरी नै यातना दिएर मलाई राखिएको भुइँको अगाडितिर फोल्डिङ खाटमा राखियो । उनको अवस्था नाजुक थियो । उनको उमेर ३४ वर्ष र घर नुवाकोट भएको थाहा भयो । उनलाई सेनाले सचिव भन्ने गर्थे । मंसिर २० गते ग्यारेजमा हीराबहादुर सारु, सुनिन्द्र श्रेष्ठलाई ल्याइयो । सुनिन्द्रलाई पुष्प, हीरा रोक्काझैं अशक्त बनाइएको थियो । यी व्यक्तिलाई ४ देखि ६ दिनको बीचमा हामीबाट अलग गरियो । उनीहरूसहित अन्य ४७ जनालाई स्क्वास हलबाट पुस ५ गते ट्रकमा हालेर लगेको माघ २२ मा हामीलाई उक्त हलमा लैजाँदा साथीहरूबाट थाहा भयो । ग्यारेजका अन्य बन्दीहरू ज्ास्तै डीबी राउत, टीका कँडेल, कमल केसी, मच्छेनारायण श्रेष्ठ, रामचन्द्र महर्जन, कालु तामाङ, राजकुमार राई, राजकुमार बस्नेत, माधव न्यौपाने, लाहानु चौधरी, रामबहादुर बस्नेत आदि विभिन्न समयमा रिहा वा सार्वजनिक भएको अनुमान मैले गरेको छु । उता सँगै राखिएका ७ महिला बन्दीमध्ये ४ उल्लिखित महिला बन्दीसँगै उल्लिखित ४ पुरुष बन्दी पनि बेपत्ता छन् । त्यस्तै खड्ग र पद्मनारायण नकर्मीको शंकास्पद हत्या, किरण रायको हत्या आदिको बारेमा तल उल्लेख छ ।

दिसा जाँदा र खाना खाने क्रममा मैले भीम गिरीलाई भेटेँ । त्यस्तै सीएमलाई पनि । मंसिर २९ वा ३० गते हुनुपर्छ, धीरेन्द्र बस्नेतलाई भेटेँ । त्यस्तै निश्चललाई पुनः एकपटक भेटेँ । उसले हालत ठीक छैन भन्यो । अरू कुरा गर्न मौका मिलेन । ज्ञानेन्द्र त्रिपाठी र दीपेन्द्र पन्तलाई बाहिरको पालमा राखिएको पछि बन्दीहरूबीच कुरा गर्दागर्दै पुष्टि भयो । त्यस्तै ओएचसीएचआरले उल्ल्ोख गरेकामध्ये अधिकांश बन्दीसँग त्यसरी नै भेट भयो । तर भैरवनाथमा बेपत्ताको संख्या कैयौं गुणा बढी भएका आधार बलिया छन् । गणका पूर्वबन्दीले देखेका घटना सम्भिmने र सबैले सार्वजनिक गर्ने हो भने कम्तीमा पनि त्यहाँ ३०० बढी बन्दी भएको पुष्टि हुन्छ ।
चार दिनपछि मलाई कृष्ण केसी र खड्गसँग कुरा गरेको आरोपमा यातना दिएर अर्काे कुनामा सारियो । त्यहाँ प्रदीप रम्तेल र १९ वषर्ीय ड्राइभर थिए । उनले माओवादीको नाम त्यहींमात्र थाहा पाएका रहेछन् । उनी लगायत ४ जनालाई माओवादीका नेतासँग नाम मिलेको कारणले र अर्का १९ वषर्ीय राईलाई वानेश्वरमा कर्नेल किरण बस्नेत मारिएको ठाउँ नजिकबाट पक्रेर ल्याइएको रहेछ । उनी वानेश्वरमा सानो होटलमा भाँडा माझ्ने गर्दारहेछन् । उनलाई पक्रेपछि कैयन् दिनसम्म यातना दिएर 'म माओवादी हुँ' भन्न लगाइएको रहेछ । छोडिदिन्ेा प्रलोभनमा उनले सीधा पाराले स्वीकारेछन् । त्यसपछि एकजना साथीलाई ल्या अनि घर जा भनेछन् । उसले त्यो कुरा पनि मानेछ । त्यसपछि राईले पालैपालो बीसजना चिनेका मान्छे ल्याएछन् ।

स्क्वास हलमा छँदा हामीलाई ३-४ पटक ट्रकमा कोचेर बंकरमा लगेर बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म्ा पानी पनि खान नदिइ राखियो । सेनाका जवानले कुरा गरेको सुनेर थाहा पायौं, आइसीआरस्ाीलाई हामी हटाइएको खाली हल देखाइएको र कुनै पनि बन्दी नभएको जानकारी दिएको भन्ने कुरा सत्य लाग्यो र प्रायः सोम र शुक्रबार लुकाइने, बसेको हल हामीलाई नै सफा गर्न लाउने सबै कपडा, बोरा हटाउने, बाहिर यातना दिन राखिएका बोर्ड, ड्रम उखेल्ने अनि कसैले नदेख्ने ठाउँमा राख्ने आदि कारणले त्यो कुराको सजिलै पुष्टि हुन्थ्यो । बंकरमा लैजाँदा अरू पालबाट ल्याइएका बन्दीलाई पनि हामीसँगै कोचेर राख्दा चिनजान भइहाल्थ्यो । त्यसरी चिनजान हुनेमा राष्ट्रबैंकका कृष्ण सिलवाल, अमीर गुरुङ, धादिङका शिक्षक आदि । बंकर गहिरो खोँचजस्तो ठाउँमा थियो, जहाँ वरिपरि काँडेतारमा बाक्लो पालको बार हुन्थ्यो र अनेकौं ठूला-साना पाल हुन्थे । नजिकैको पालमा मैले कम्तीमा पनि ४० जना महिला-पुरुषलाई शौचालयको प्वालबाट नियालेको थिएँ । प्ाुरुष बन्दीहरूको दार्‍ही हाम्रोभन्दा लामो थियो भने महिलाहरूको स्थिति नराम्रो थियो ।

खड्गबहादुरलाई अन्दाजी फागुन ३ गते नै अचेत अवस्थामा मध्यरात लगभग २ बजे हामी बीचबाट हटाइयो । भोलिपल्ट बिहानै हुनुपर्छ, हामीलाई बंकरमा लुकाइएको थियो । त्यहाँ पद्मनारायण अचेत थिए । उनले कैयौंपटक बान्ता गरेका थिए । खड्गसँगको बिछोड आलो छाड्दै पद्मलाई विदा गर्नुपर्ने अवस्था आयो । केही दिनपछि सेनाका जवान कानेखुसी गर्थे, २ आतंककारीलाई माथि पठाइयो । हामीले जे अनुमान गर्‍यौं, त्यही भयो । त्यसपछि हामीले पद्म र खड्गलाई कहिले पनि भेटेनौं ।

लगभग फागुनको अन्तिम सातादेखि सुन्निएर अशक्त हुनथालेका केही साथीहरूलाई छाउनीमा लैजाने र केही विसेकजस्तो भएपछि हामीसँग ल्याउने गरियो । अस्पताल लगिएकामध्ये रेशम विक, गोविन्द घिमिरे, राम खड्गी, अमीर शाक्य लगायत १५-२० जना थिए । बाँकी बन्दीको अवस्था पनि दयनीय थियो । तर ३-४ दिनसम्म खाना खान नसक्नेलाई मात्र अस्पताल लाने नीति बन्यो र हामीलाई निकै सुन्निँदा पनि अस्पताल लगिएन । छाउनी अस्पतालमा गएर आउने एक बन्दीले संयोगवश कान्तिपुरको दोस्रो पृष्ठमा -सायद) पढ्न पाएछन् । त्यहाँ फेला परेछ, सेनाको नक्कली विज्ञप्ति । लेखिएको रहेछ, 'खड्बहादुरको उपचार गर्दागर्दै असामयिक निधन' । त्यसमा थप लेखिएको रहेछ, खड्ग माओवादीको हतियार ओसारपसार गर्ने क्रममा पक्राउ परी सेनासँग आत्मसमर्पण गरेर सैनिक क्याम्पमा सुरक्षाको लागि बस्दै आएको । अर्थात् आफूखुसी बस्दै आएको वा घर जान नमानेको । -पाठकवृन्द ! ०६० फागुन ५ देखि १५ बीचको कान्तिपुरको दोस्रो पृष्ठ वा अन्य कुनामा विज्ञप्तिको पूर्ण पाठ हुनुपर्छ) हामीले त उनलाई भैरवनाथको हलमा नै लगभग विदा गरेका थियौं । कहिले पो उनी अस्पतालमा लगिएछन् । संयोगवश ती बन्दीले कान्तिपुरको टुक्रा ल्याएका रहेछन् । मैले पनि त्यो लज्जाजनक विज्ञप्ति पढेँ ।

स्मरणीय छ, स्क्वास हलका अन्तिम दिनहरूमा खड्ग र पद्मको हत्या वा मृत्युपछि सेनाले प्रायः हामी सबै जीवित बन्दीहरूलाई ज्यानको धम्की दिँदै एउटा नांगो नाच गर्‍यो । एउटा नक्कली कागजमा सहीछाप गर्न लगायो । त्यस कागजमा लेखिएको थियो, 'म माओवादी भएकोले सुरक्षाकर्मीको हिरासतमा अत्यन्तै आरामसहित मानवीय व्यवहार पाएको छु । मलाई केही दिनअघि पक्रिएको हो । मलाई यातना दिएको छैन..., मलाई यहाँ कुनै समस्या छैन..., म रिहा भए मलाई माओवादीले नै मार्नेछन् । ....तसर्थ आफ्नो सुरक्षाको लागि आफूखुसी परिवारसँगसमेत सम्पर्क नगरी आराम गरिबसेको छु । म उचित समयमा रिहा हुनेछु ।' यस्तै-यस्तै लेखिएको थियो । उक्त कागजमा मिति थिएन । बन्दुकको नाल कञ्चटमा राखेर लेख्न लगाइयो । लेख्न नजान्नेलाई अरूले लेखेको कागजमा सही गर्न लगाइयो । उक्त कागज त्यही दिन छुट्ने भनिएका निर्दोष प्रदीप रम्तेल, राजकुमारहरूलाई पनि औंठाछाप लगाउन बाध्य बनाइयो । उनीहरूले लेख्न नजाने पनि अरूले लेखेको कागजमा औंठाछाप लगाउन लगाइयो । मलाई शंका छ, खड्ग वा पद्मलाई पनि मृतक अवस्थामा नै त्यस्तै कागजमा औंठाछाप लगाए वा उनीहरूलाई त्यो गर्न बिर्सेर हामीलाई त्यो कागज गराए ।

स्क्वास हलमा मानवअधिकारकर्मीबाट जोगाउनुपर्ने झञ्झटबाट सधैंका लागि मुक्त हुन सेनाले चैत ४ देखि ७ गते बीचमा हामीलाई उच्च सतर्कयुक्त ठाउँमा लग्यो । च्ौत ३ मा त्यस गणको वार्ष्र्िकी पर्दोरहेछ । मैले भैरवनाथको स्थापना लेखिएको गेट केही दिनअघि बंकरमा लुकाउन लैजाने क्रममा बाटोमा देखेको थिएँ । च्ौत ३ मा विशाल नाचगानसहित पार्टी गरिएको थियो । हामीचाहिँ हलमै थियौं । तर दिनभरि भोकै थियौं । त्यसै दिन राति मेजर विवेक विष्टको नेतृत्वमा आएको टोलीबाट प्रायः सबैले बुट खायौं । त्यसदिन बुट र पाइपबाहेक केही पनि खाइएन ।

उच्च सतर्कताको लागि लगिएका बन्दीको संख्या जम्मा २९ थियो । त्यहाँ ४ वटा पालमा ल्याइयो । अन्यलाई छोडियो वा के गरियो, मलाई यकिन छैन । हामीहरू ३ शिक्षक कृष्ण, हिमाल, वीरेन्द्र, ३ महिला बन्दी, किरण, विजय मगर, रेशम, विजय भट्टराई, गोविन्द, देव गुरुङ आदि थियौं । नयाँ बन्दी वा अन्य पालबाट त्यहाँ ल्याएका थिए । तीमध्ये ६ जनालाई माओवादीको नाममा सही गर्न लगाइएको रहेछ । उनीहरू ०६१ जेठमा छुटेको हुनुपर्छ । त्यस्तै नारायणध्वज महतसहित ४ जनाको समूह थियो । पुसमा गिरफ्तार गरी उक्त गणमा राखिएका पत्रकार जितमान बस्नेत, केही समय बंकरमा भेट भएका अमिर गुरुङ ।

मानबहादुर श्रेष्ठ, धनबहादुर मगर, माधव न्यौपाने आदिलाई असारमा छोडियो । असारमा जन्डिस भएका केही साथीलाई छुट्टै पालमा राखियो । छाउनी अस्पतालबाट फर्काइएका केहीलाई हामीस्ाँग सञ्चार हुन नसकोस् भनेर छुट्टै पालमा राखियो । कृष्ण केसी, हिमालसहित ४ जनालाई बाहिरको पालमा राखियो । बन्दीको अवस्थामा थप कडाइपन ल्याइयो । राति उठाउने, उप|mन लगाउने, हत्कडी, पट्टी टनक्क कस्ने आदिमा थप कडाइका साथ सशक्त पारियो । हामीमा बाँच्ने आशा कम हुन थाल्यो । सेनाले पिसाब गर्न प्रयोग गरेर छाडेको चौरको टेन्टमा राखिएकोले लामखुट्टेले थप समस्या थप्यो । प्ाालमा पानी चुहिने र भुइँबाट चिसो पस्ने भएकोले समस्या पर्‍यो ।

साउन १ गते म लगायत १२ जना बन्दीलाई नुहाइ-धुहाइ गरेर एउटा हलमा लगियो । हामीले सोच्यौं, अब अर्काे नाटक मञ्चन हुने भयो । मेजरले भन्यो, 'तिमीहरूलाई भेट्न कोही आउँदैछ । सबै राम्रो छ भन्न्ाु । कुनै गुनासो गर्‍यौ भने बेलुका पहिलेका दिन दोहोरिन्छन् । २ घन्टासम्म हाम्रा पट्टी, हत्कडी खोलिए । भेट्न कोही आएन । बेलुका हत्कडी, पट्टीसहित पुनः पहिलेकै ठाउँमा फर्कायो । सेना त्यसदिन पनि ढाँट्न सफल भयो ।

मलाई रिहा हुने दिन बिहान अचानक मेरो कैदी नम्बर ९६ बोलाइयो र तानेर नजिकैको एक्लो पालमा राखियो । मेजर विवेक विष्टले पालमा भेट्यो । उसले पालेलाई मेरो पट्टी खोल्न आदेश दियो । म्ौले मेजरलाई देखेँ । उनी मैले कल्पना गरेजस्तो राक्षसै त रहेनछन् । सामान्य म्ाान्छे लाग्यो । सायद उनले मेरो सातो पहिले नै टिपिसकेका रहेछन् । उसले आफूलाई चिनेको वा नचिनेको सोध्ोे । मैले भने बोली सुनेको बताएँ । उसले कसरी भन्यो । पालमा कहिलेकाहीं आउनुहुन्थ्यो, मैले भनेँ । उसले सोध्यो, 'माडसापलाई कसैले नराम्रो गर्‍यो कि ?' मैले ठीक भएको बहाना गरेँ । उसले भन्यो, 'मैले तपाईंलाई विशेष ध्यान दिन भनेको थिएँ ।' मैले त्यस्तै हो, हिरासतमा भनेँ । उसले सही थप्दै भन्यो, 'माडसाप, कसैको निधारमा माओवादी लेखेको हुँदैन, सोधपुछ गर्नैपर्‍यो । तपाईं घानमा पर्नुभयो । माइन्ड नगर्नुहोस् ।' मैले भनेँ, माइन्ड गर्ने कुरै छैन । यदि म निर्दाेष भएको प्रमाणित भएकै हो भने रिहा गरिदिनुहोस् । उनले भने, 'मैले तपाईंको रिहाइको लागि विशेष पहल गर्दैछु, तर तपाईं यदि छुट्नुभयो भने हामीलाई के सहयोग गर्नुहुन्छ ?' मैले भनेँ, छुटेर उपचार गर्छु । सके भने पढाउँछु, पढ्छु, सकिन भने घरमा बस्छु । उसले भन्यो, 'छुटेपछि तपाईँल्ो माओवादीको सुराकी दिनुपर्छ ।'

मैले भनेँ, सरी, म सक्दिन । उसले अलि कडा स्वरमा भन्यो, 'त्यसो भए म तपाईंलाई रिहा गर्न सक्दिन ।' मैले भनेँ, निर्दाेष पनि भन्ने, नछोड्ने पनि के हो ? अलि नरम भएर उनले भन्ो, 'कोही माओवादी भेट्न आए, म एउटा नम्बर दिन्छु, त्यसमा फोन गर्नु ।' उसले चिया खाने प्रस्ताव गर्‍यो । मैले आफूलाई चिया मन नपर्ने बहाना गरेँ । चियाको स्वाद बिर्सेको झन्डै एक वर्ष भएको थियो । त्यसपछि उसले दोस्रो प्रस्ताव राख्यो, 'यदि छुट्नुभयो भने पत्रकार, मानवअधिकारवादीलाई नभेट्ने । भेटेमा आफ्नो सुरक्षा आफैं गर्नुहोला ।' उसले भन्यो, 'म तपाईंको शुभचिन्तक भएकोले मात्र यो कुरा भनिरहेको छु ।' उनले थप सोध्ो, 'तपाईंलाई कहाँ राखिएको छ, केही थाहा छ ?' मैलै बहाना गर्दै भनेँ, काठमाडौंंभित्र छु, तर कहाँ भन्ने पत्तो छैन । अर्काे एक जटिल प्रस्ताप राख्यो, सँगै पक्रेको निश्चल नकर्मीबारे केही बोले सुरक्षा निकायले पुनः पक्रेर फेरि जीवन दिन सक्दैनन् । उनले भने, 'नेपाल सानो छ । चाहेमा एक घन्टामा तपाईंलाई पक्रिन सकिनेछ ।' मैले भनेँ, मलाई थाहा छ । त्यसपछि मेजर गए । पट्टी पुनः बाँधियो ।

एकछिनपछि अर्काे सेनाको अधिकृतजस्तो लाग्ने व्यक्ति आएर टाउको धकेल्दै धम्कीपूर्ण स्वरमा भन्यो, 'मास्टर छुटेँ भन्ने नसम्झी । एक मिनेटमा यहाँ ल्याउने तागत छ । यहाँको बारेमा एक शब्द बाहिर भनिस् भने सम्झी तेरो ज्यान छैन ।' बिहान १० बजे खाना लिएर भान्से आयो । सधैं बाघजस्तो व्यवहार गर्ने त्यो भान्सेले निन्याउरो मुख लाउँदै भन्यो, 'माडसाप, माइन्ड नगर्नुहोस् । हामीले नचाहँदा-नचाहँदै पनि नराम्रो गर्नैपर्‍यो ।' मैले भनेँ, तपाईंले अह्राएको गर्नुभयो । केही माइन्ड छैन । मैले थप भनेँ, यदि तपाईं सक्नुहुन्छ भने भित्रका बन्दीमाथि थोरै भए पनि मानवता देखाउनुहोस् । उसले हुन्छ भन्यो । दिउसो २ बजेतिर आफ्ना सामान बुझेको सही गर्न लगाइयो । बेलुका ७ बजे गाडीमा जान भनेर १०० मिटरजति हिँडायो । फेरि आज जान पाइनस् भन्दै फर्काइयो । म निराश भएँ । यो सबै नाटकजस्तो लग्यो । पुनः आधा घन्टापछि लगियो र गाडीमा राखियो । पट्टी यथावत् थियो । गाडीमा घोप्टो पारेर सिटमा राखियो । कैयन घुम्ती बाटो गरिकन घुमाएर वानेश्वरस्थित एकजना नातेदारकोमा छोडियो । मेरो शारीरिक अवस्था ५० मिटर पनि हिँड्न नसक्ने भएको थियो । तौल ५८ केजीबाट घटेर ४४ केजी भएको थियो । प्रकाश देख्न नपाएका आँखाले कान्तिपुर पत्रिका पढ्न सकेनन् । हात अघिल्तिर लगेर सुत्न सकिन, हात त पछाडि नै अभ्यस्त भएछन् ।

सेनाले तारिकमा कोही पनि नलिई एक्लै आउनु भनेर धम्की दिएको थियो । मलाई छोडेकै भोलिपल्ट गणेशस्थान, कमलादीको मन्दिरमा बोलाइयो । त्यहाँ आफन्तहरूको विशेष निगरानीको व्यवस्था मिलाएको थिएँ ताकि सेनाले पनि थाहा पाउन नसकोस् । मलाई पुनः बेपत्ता पार्‍यो भन्ने प्रमाण बन्न्ा सकोस् । त्यसपछि नागपोखरी, टिचिङ हस्पिटल आदि ठाउँ गरेर एक वर्षमा ३६ पटकसम्म तारिक दिइयो । तारिकमा सेना प्रहरी केही नभनी सिभिलमा आउने, तोकेका ठाउँमा भेट्न जानुपर्ने, प्रत्येक पटक गोप्य कुरा भने मार्ने धम्की दिने, गाडीमा चड् भनेर डर देखाउने, माओवादी देखा भन्न्ो, घाममा राखेर अनावश्यक कुराहरू सोध्ने जस्ता अपमानजनक काम भए । यसरी सेनाका ब्यारेकका २६० दिन र त्यसपछिको एक वर्ष अत्यन्तै तनावबीच बिते ।

[
साभार: कान्तिपुर दैनिक, १६ मंसिर २०६३, Dec 2 2006]

Friday, December 1, 2006

प्रस्तावित राष्ट्रिय गान

सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली,
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल,
वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल

[रचनाकार: व्याकुल माइला -प्रदीपकुमार राई ]

इतिहास निर्माता जनता

निभा शाह

सन् १७७७ ताका फ्रान्समा एघार लाख जनता भीख मागेर खान्थे । सोह्रौँ लुई राजगद्दीमा बसेको बेला सरकारी तवरबाट आएको यो तथ्यांक हो । यही बेलामा त्यहाँका जनताले गाँस, बास, कपासका लागि आन्दोलन गरे । आन्दोलित जनतालाई सोह्रौँ लुईको उर्दी सुनाउँदै तिनका हुक्के-बैठकले भने- 'घाँस उमि्ररहेको छ, खेतमा गएर चर ।' जनतालाई भेडाबाख्रा सोच्ने यिनै लुई सोह्रौँलाई फ्रान्सेली जनताले २१ जनवरी सन् १७९३ मा गिलोटिनमा टाउको राखी मृत्युदण्ड दिए । फ्रान्सेली राज्यक्रान्तिले प्रमाणित गर्‍यो, जनता इतिहासका निर्माता हुन् ।
जनताको जीवन सधैं भोजनका लागि र जीवनका अरू आवश्यकता एवं उत्पीडनविरुद्ध निरन्तर लड्दै आइरहेछ । राजसत्तासँगको सन्दर्भमा उत्पीडित वर्ग त्यही संरचनामा रहिरहन चाहन्छ । उत्पीडित वर्ग त्यो संरचना भत्काउन चाहन्छ र मानव संघर्षको इतिहास खोतल्दै अघि बढ्दै जान्छ । त्यसैले इतिहास भनेको क्रान्ति र परिवर्तनको अभिलेख हो । जनताले निर्माण गर्ने इतिहास तानाशाहको कार्पेटमुनि पराजित भइबस्न सक्दैन । ढिलो-चाँडोको अन्तरसंघर्ष मात्र जारी हो । पराजित नहुने जनताको इतिहासमाथि बेलायती साम्राज्यवादी शासक भन्थे, 'आइरिस हो, तिमीहरू भेडाबाख्रा भएको भए ठीक हुन्थ्यो, पेटभरि घाँस त चर्थौ, के गर्छौ मान्छे भयौ ?' आइरिसका यिनै भोका जनताले बेलायती साम्राज्यवादविरुद्ध साढे सात सय वर्ष लामो युद्ध लडेर प्रमाणित गरे, जनता अपराजित हुन् ।
यसै सिलसिलामा आफ्नैं देशतिर लागौं, ०५२ साल अगाडि कर्णाली, सेती र महाकालीका जनता हवाईजहाज एयरपोर्टमा बसेपछि भन्थे, 'अब चिलगाडीमा हाम्रा जडीबुटी नेपालगन्ज लैजाँदो भयो ।' नेपालगन्ज नाका हुँदै कर्णाली र सेती क्षेत्रको जडीबुटी दिल्ली र अमेरिका कसरी पुग्छ ? यसरी पुगाउनमा केन्द्रीय सरकारको भूमिका कस्तो रहन्छ ?
भारतका केही पत्रपत्रिकाले यस सन्दर्भमा त्यतिखेर कर्णाली प्रदेश पुगेर स्थलगत रिपोर्टद्वारा अवगत गराएको पाइन्छ । जबकि केन्द्रीय सत्ताका लुटेराहरूले त्यहाँका आम जनताका लागि सिन्कोसम्म भाँचेको पाइँदैन । जनआन्दोलन- २ उभारको बेला हामी केही साथीहरू कैलाली चुरे शृङखला विकट बस्ती जनताका माझ थियौं । त्यही सेरोफेरोमा कुपोषणयुक्त अनुहार, सात-आठ महिनाको गर्भ, कम्मरमा सानो बच्चा, डोकोमा गाग्रीभरि पानी लिएर आइरहेकी महिला चौतारामा सुस्ताउन बसिन् । उनले हामीतिर हेर्दै भनिन्, 'एक घन्टा उकालो-ओरालो गरिकन पानी ल्याउन पडन्या, न खानाकी छ, न लाउनाकी छ, न दबाई छ, सबैतिरका दुख्छन् ।' केन्द्रीय सत्ताद्वारा उत्पीडित सबैतिरका दुःख खेपिरहेका यस क्षेत्रका जनताको यसर्थ वीरताको इतिहास छ । राणा शासनविरुद्ध संघर्षको प्रथम शंखघोष गर्ने 'बारा वीर' अछाम जिल्लाका हुन् । यी नेपालका पहिला सहिद हुन् भनेर इतिहासले प्रमाणित गरिरहँदा पनि केन्द्रीय राजसत्ताले यिनलाई प्रथम सहिद घोषणा गरेको छैन । जसका लागि सेती-महाकाली प्रदेशका जनताले आवाज उठाइरहेछन् ।
रूसको अक्टोबर क्रान्तिबाट प्रभावित भएर आन्दोलन गर्ने योद्धा दसरथ चन्द, जसले आफूलाई बलिदान गरे । ००८ सालमा सामन्तवादविरुद्ध सशस्त्र संघर्ष गर्ने भीमदत्त पन्तलाई भरौटे सेनाले मारे । यसैगरी जनयुद्धको जँघार तर्दै 'बृहत् शान्ति सम्झौता' सम्म आइपुगेका यिनै जनता हुन् । जसले जनमुक्तिका खातिर सेती-महाकालीबाट मात्र १५ सयभन्दा बढी बलिदानी कोटा पूरा गरे । जुन बलिदानको प्रतिफल त्यस प्रदेशका जनताले 'सेम स्वायत्त प्रदेश' घोषणा गरेका छन् । 'जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ, जहाँ प्रतिरोध त्यहाँ ध्वंस हुन्छ, जहाँ ध्वंस हुन्छ, त्यहाँ निर्माण हुन्छ ।' निर्माण गर्ने जनता जुन तप्का र क्षेत्रका भए पनि उनीहरू उत्पीडनविरुद्ध लड्छन् । स्पार्टाकस, पेरिस कम्युन, अक्टोबर र चिनियाँ नौलो जनवादी क्रान्ति जनताका इतिहास हुन् ।
जनता बलिदान दिन्छ, तर कहिल्यै हार्दैन । सामन्ती सत्ताले नेपाली जनतालाई कमैया र रैतीभन्दा माथिको पहिचान कहिल्यै दिएको थिएन । एघार वर्ष अगाडि जनयुद्ध सुरु हुँदा रोल्पाको ओडारभित्र एकै हप्तामा यिनको संघर्ष सिध्याइदिन्छौं भनी तत्कालीन सत्ताधारीहरूले घोषणा गरे । संघर्षले त्यस्तो खोक्नेहरूलाई जनसंघर्ष भनेको के हो, देखाइदियो । सबैलाई थाहा होस्, क्रान्तिको झिल्कोदेखि विश्व साम्राज्यवाद पनि काँप्छ । नेपाली जनताले विश्वलाई प्रमाणित गरेर फेरि पनि देखाइदिए, जनता इतिहास निर्माता हुन् ।

[
साभार: कान्तिपुर दैनिक, मंसिर १५, २०६३, Dec 1, 2006]